क्यानडामा कार दुर्घटनामा निधन भएका दीपक मरासिनीको पार्थिव शरीर नेपाल पठाइयो
टोरन्टो, क्यानडा — १० फेब्रुअरी २०२६
क्यानडामा कार दुर्घटनामा परी निधन भएका नेपाली नागरिक दीपक मरासिनीको पार्थिव शरीर नेपाल पठाइएको छ। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् क्यानडाको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी उहाँको पार्थिव शरीर ५ फेब्रुअरी २०२६ मा काठमाडौँ पठाइएको हो।
स्वर्गीय मरासिनी उच्च शिक्षाका लागि अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा क्यानडा आएका थिए। उहाँले ओन्टारियोस्थित Fanshawe College बाट Agribusiness Management विषयमा अध्ययन पूरा गर्नुभएको थियो र हाल Personal Support Worker (PSW) का रूपमा कार्यरत हुनुहुन्थ्यो।
२२ जनवरी २०२६ मा ओन्टारियोको हल्डिमण्ड काउन्टीमा भएको एक कार दुर्घटनामा उहाँको असामयिक निधन भएको थियो। बीमासम्बन्धी जटिलता र परिवारको कमजोर आर्थिक अवस्थाका कारण पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया चुनौतीपूर्ण बनेको थियो।
NRNA NCC क्यानडाको पहलमा GoFundMe अभियानमार्फत संकलन गरिएको सहयोग तथा नेपाली समुदायको उल्लेखनीय एकता, सहकार्य र सहयोगका कारण पार्थिव शरीर नेपाल पठाउन सफल भएको जनाइएको छ।
यस दुःखद घडीमा सहयोग पुर्याउने सम्पूर्ण नेपाली क्यानेडियन समुदाय, सम्बन्धित निकाय, नेपाली दूतावास, स्वयंसेवक तथा सहयोगीहरूप्रति NRNA NCC क्यानडाले हार्दिक आभार व्यक्त गरेको जानकारी गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् क्यानडाका प्रवक्ता तिलाराम सापकोटाले दिनुभएको छ .