टोरन्टो सिटी काउन्सिलले अप्रिल १० देखि १७, २०२६ सम्मलाई “नेपाली हेरिटेज वीक” घोषणा !
टोरन्टो सिटी काउन्सिलले अप्रिल १० देखि १७, २०२६ सम्मलाई “नेपाली हेरिटेज वीक” घोषणा गरेको छ। क्यानडामा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक पहिचान, योगदान र सक्रिय सहभागितालाई सम्मान गर्ने उद्देश्यले गरिएको यो घोषणा टोरन्टो सिटी हलमा आयोजित विशेष Flag Raising Event मार्फत सार्वजनिक गरिएको हो।
मेयर Olivia Chow द्वारा हस्ताक्षरित घोषणापत्रमा नेपाली क्यानाडेली समुदायले टोरन्टोको सांस्कृतिक, सामाजिक र आर्थिक विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको छ। नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम, सामुदायिक सेवा, भाषा–संस्कृति संरक्षण तथा कला–परम्पराको प्रवर्द्धनले सहरको बहुसांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाएको उल्लेख छ।
घोषणापत्रलाई Councillor Neethan Shan ले Nepali Flag Raising Event कै क्रममा औपचारिक रूपमा सार्वजनिक गरे।
कार्यक्रममा MPP Kristyn Wong-Tam, NRNA President Jagan Sapkota, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले यो घोषणालाई क्यानडामा नेपाली समुदायको पहिचान र योगदानप्रति व्यक्त गरिएको औपचारिक मान्यताका रूपमा स्वागत गरे।
Nepalese Canadian Community Services (NCCS) का अध्यक्ष Sudarshan Sapkota ले “नेपाली हेरिटेज वीक” को अवधारणा एनसीसीएसबाट सुरु भए पनि यसको सफल कार्यान्वयन सम्पूर्ण समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए।
उहाँले विभिन्न संघ–संस्था, सञ्चारमाध्यम र शुभेच्छुकहरूको निरन्तर समर्थनले यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै, यस पहललाई संघीय स्तरसम्म विस्तार गरी ‘नेपाली हेरिटेज महिना’ घोषणा गराउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
टोरन्टो सिटी काउन्सिलद्वारा गरिएको यो घोषणा र Flag Raising Event ले क्यानडामा नेपाली समुदायको सांस्कृतिक धरोहर, पहिचान र योगदानप्रति सम्मान व्यक्त गरेको छ।
यसले नेपाली समुदायको उपस्थिति र प्रभावलाई सहरको बहुसांस्कृतिक संरचनामा औपचारिक रूपमा स्थापित गरेको छ।