पथरीमा त्रि–दिवसीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम सुरु!
पथरी शनिश्चरे, फागुन २९ – मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरपालिकास्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा उत्कृष्ट विद्यार्थी प्रोत्साहन कार्यक्रम–२०८२ सुरु भएको छ।
आज शुक्रबार पञ्चायत माध्यमिक विद्यालयको संयोजनमा सुरु भएको उक्त कार्यक्रम तीन दिनसम्म (फागुन २९ देखि चैत १ गतेसम्म) सञ्चालन हुने भएको छ।
पथरी शनिश्चरे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा शैक्षिक वर्ष २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गरिनुका साथै विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको छ।
कार्यक्रमअन्तर्गत आधारभूत तथा माध्यमिक तहका विद्यार्थीहरूका लागि एकल गायन, नृत्य, चित्रकला, हस्तलेखन जस्ता विधामा प्रतियोगिता सञ्चालन गरिएको छ। साथै आधारभूत तहका विद्यार्थीका लागि हिज्जे प्रतियोगिता र माध्यमिक तहका विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरिएको पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी ले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो ले नगरपालिकाले हरेक वर्ष यस्ता प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा पहिचान गरी उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्य रहेको बताउनुभयो।
पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी ले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा ले गर्नुभएको थियो।
कार्यक्रमको पहिलो दिन आज सुन्दर हस्तलेखन प्रतियोगिता र एकल गायन प्रतियोगिता सम्पन्न भएका छन्। गायन प्रतियोगिताको निर्णायकको भूमिका वरिष्ठ लोकगायक महेश बुढाथोकी, बालकृष्ण कार्की तथा लोक दोहोरी गायिका गंगा गौतम ले निर्वाह गर्नुभएको थियो।