क्यानेडामा मृत भेटिएकी रोशनी कुमालको शव दमक ल्याइयो !
क्यानेडामा मृत भेटिएकी नेपाली विद्यार्थी रोशनी कुमालको शव झापाको दमक ल्याइएको छ। मृत्यु भएको घटनाबारे जानकारी पाएको २६ दिनपछि हिजो राति करिब १० बजे शव दमक आइपुगेको हो।
गत चैत ४ गते (मार्च १८) क्यानेडाको टोरन्टो शहरमा मृत अवस्थामा भेटिएकी २३ वर्षीया रोशनीको शव दमक–५ स्थित यलम्वर चोकमा रहेको घरमा ल्याइएको हो।
क्यानेडाबाट ल्याइएको शव आज बिहान ६ बजे परराष्ट्र मन्त्रालयको रोहवरमा उनका आफन्तलाई बुझाइएको थियो। त्यसपछि शवलाई घरसम्म ल्याइएको रोशनीका मामा शम्भु कुमालले जानकारी दिनुभयो।
करिब अढाई वर्षअघि अध्ययनका लागि टोरन्टो गएकी रोशनी दुई वर्षको अध्ययन पूरा गरी वर्क परमिट लिने प्रक्रियामा थिइन्। उनको मृत्युको कारणबारे भने क्यानेडाको प्रहरीले ३ देखि ६ महिनाभित्र इमेलमार्फत रिपोर्ट पठाउने जानकारी दिएको छ।
उक्त शव नेपाल पठाउनका लागि Non-Resident Nepali Association (एनआरएनए) क्यानडाको सहयोग रहेको थियो ।