आइतबार, अप्रिल १२, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
The 35th annual festival of Annapurna Mavi concluded with honors

सम्मानित सहित अन्नपूर्ण माविको ३५औँ वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

Bhoj Raj Ghimire
मार्च १७, २०२६
३१२ पटक हेरिएको



पथरी शनिश्चरे, चैत्र ३ — मोरङको पथरी शनिश्चरेस्थित अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३५औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित भव्यताका साथ सम्पन्न गरेको छ। सोमबार विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शैक्षिक उपलब्धि, सांस्कृतिक प्रस्तुति तथा सम्मान कार्यक्रमले विशेष आकर्षण थपेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नोवलकिशोर खनालको अध्यक्षता तथा संविधानसभाका पूर्व सभासद् चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षाविद्, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलीपकुमार राई, शिक्षक महासङ्घ पथरी शनिश्चरेका अध्यक्ष तथा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेमबहादुर श्रेष्ठ, सदस्यहरू कला मगर र जेनिसा बस्नेत लगायत सहभागी थिए।
कार्यक्रमको प्रारम्भमा विद्यालयका सहायक व्यवस्थापक रामचन्द्र रानाले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक तथा सामाजिक योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका मेलिना आचार्यले गर्नुभएको थियो।
उक्त अवसरमा विद्यालयका भूतपूर्व प्रिन्सिपलहरू गणेश बिष्ट, दिनेश बराल र भूमिप्रसाद पाठकलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यसैगरी, शैक्षिक सत्र २०५८ सालको एसएलसी ब्याचका विद्यार्थीहरूलाई पनि विशेष रूपमा सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो। सम्मान कार्यक्रमले उपस्थित सबैमा उत्साह र प्रेरणा थपेको देखिन्थ्यो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म भएका उपलब्धिहरू, पूर्वाधार विकास, शैक्षिक सुधार र आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।
उत्सवको अर्को आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरू रहेका थिए। गायन, नृत्य, नाटक लगायतका विविध प्रस्तुति मार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
सोही अवसरमा ‘स्टुडेन्ट अफ द इयर’ विधामा कक्षा १० की छात्रा जेनिसा कार्कीलाई उत्कृष्ट घोषित गर्दै पुरस्कार प्रदान गरिएको थियो। साथै नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।
समग्रमा, सम्मान कार्यक्रमसहित सम्पन्न भएको अन्नपूर्ण माध्यमिक विद्यालयको ३५औँ  वार्षिक उत्सवले विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीहरूको प्रतिभा र समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio