एनआरएनए क्यानडाको पहलमा स्कारबरोमा दिवंगत रोशनी कुमालको पार्थिव शरीर नेपाल पठाइयो
मार्च १४, २०२६ मा क्यानाडाको ओन्टारियो प्रान्त अन्तर्गत स्कारबरोमा एक नेपाली चेली रोशनी कुमालको असामयिक निधनको दुःखद घटनापछि एनआरएनए क्यानडा को सक्रिय पहलमा उहाँको पार्थिव शरीर नेपाल पठाइएको छ।
करिब एक हप्तासम्मको प्रहरी अनुसन्धान, चिकित्सकीय प्रतिवेदन तथा पोस्टमार्टम प्रक्रिया पश्चात सम्बन्धित सम्पूर्ण विवरण नेपालस्थित परिवारलाई जानकारी गराइएको थियो। त्यसपछि पार्थिव शरीर नेपाल पठाउने उद्देश्यले आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाइएको थियो।
यस कार्यका लागि नेपाली दूतावास ओटावा, एनआरएनए एनसीसी क्यानाडा तथा स्थानीय सहयोगीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। पार्थिव शरीर ब्राम्पटनस्थित ब्राम्पटन क्रीमेटोरियम एण्ड भिजिटेशन सेन्टरमा सारिएको थियो।
परिवारको सहमतिमा आवश्यक कागजातहरू—कन्सेन्ट पेपर, “लेटर अफ डाइरेक्शन” तथा दूतावासबाट “नो अब्जेक्सन लेटर”—तयार गरी प्रक्रिया पूरा गरिएको थियो। यस सम्पूर्ण कार्यका लागि करिब १०,७४० क्यानेडियन डलर ४० सेन्ट खर्च भएको जनाइएको छ।
आर्थिक व्यवस्थापनका लागि एनआरएनए एनसीसी क्यानाडा को पहलमा गोफन्डमी अभियान सञ्चालन गरिएको थियो भने दिवंगत कार्यरत कम्पनीका सुपरभाइजर शिरिस पटेलद्वारा छुट्टै सहयोग अभियान सञ्चालन गरिएको थियो। पछि दुवै अभियानलाई एकीकृत गर्दै पहिलो प्राथमिकता पार्थिव शरीर नेपाल पठाउने र बाँकी रकम परिवारलाई सहयोग गर्ने सहमति गरिएको थियो।
टङ्कबहादुर कार्कीको नाममा सञ्चालित अभियानबाट ६,०६३ डलर र शिरिस पटेलको अभियानबाट ४,६३३ डलर ४० सेन्ट संकलन गरी अन्तिम संस्कार सम्बन्धी सेवामा भुक्तानी गरिएको थियो।
नेपालमा पार्थिव शरीर ग्रहण गर्नका लागि उहाँका मामा शम्भु कुमाल र पिता जिवराज कुमाललाई जिम्मेवारी दिइएको थियो। उहाँहरू हाल काठमाडौँ पुगिसक्नु भएको छ भने आज एयर इन्डिया मार्फत पार्थिव शरीर नेपाल पठाइएको जनाइएको छ।
यस दुःखद घडीमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दूतावास, स्थानीय सहयोगीहरू तथा आर्थिक तथा नैतिक सहयोग पुर्याउने सबैप्रति एनआरएनए क्यानडा ले हार्दिक आभार व्यक्त गरेको छ।
यस्तो अकल्पनीय घटना पुनः नदोहरियोस् भन्ने कामना गर्दै, यस विषम परिस्थितिमा देखिएको एकता, सहयोग र मानवीयताप्रति विशेष कृतज्ञता प्रकट गरिएको छ।