बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण: सङ्क्रमण नियन्त्रणका लागि पालिकाभरका विद्यालय बन्द
बागलुङ — बागलुङ जिल्लाको विकट क्षेत्र मानिने ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमण फैलिएपछि रोकथाम तथा नियन्त्रणका लागि पालिकाभरका सम्पूर्ण विद्यालयहरू बन्द गरिएका छन्।
प्राप्त जानकारी अनुसार, ढोरपाटन नगरपालिकाका वडा नम्बर ७, ८ र ९ अन्तर्गत पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुराको प्रकोप देखिएको हो। हालसम्म यस क्षेत्रका ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने २२ जना सङ्क्रमितको बुर्तिबाङस्थित अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्यकर्मीद्वारा सङ्कलन गरिएका ५ वटा स्वाबको परीक्षण गर्दा दादुरा सङ्क्रमण आधिकारिक रूपमा पुष्टि भएको हो।
ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालका अनुसार, सङ्क्रमण समुदाय स्तरमा थप फैलिन नदिन र विद्यार्थीहरूलाई सुरक्षित राख्न उच्च सतर्कता अपनाउँदै आगामी फागुन २७ गतेसम्मका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो।
सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले नगरवासीमा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। साथै, बालबालिकामा ज्वरो आउने वा शरीरमा बिमिरा देखिने जस्ता दादुराका कुनै पनि लक्षण देखिएमा घरमै नराखी तत्काल नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न अभिभावकहरूलाई विशेष आग्रह गरिएको छ।