विराटनगरमा महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न, सायुन्षा पोखरेल प्रथम
विराटनगर – विराटनगर महानगरपालिका–३ द्वारा आयोजित महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा सायुन्षा पोखरेल प्रथम भएकी छन्।
विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदित र पत्रकार अभयकुमार राई सम्मिलित निर्णायक समितिले विजेताहरूको नाम घोषणा गरेका थिए।
पोखरिया माविकी छात्रा सायुन्षा पोखरेलले प्रथम स्थान हासिल गर्दै नगद ८ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। ‘सभ्य र मर्यादित समाज निर्माण र विकासमा युवाको भूमिका’ विषयमा आयोजित प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयकी छात्रा रञ्जना कोइराला द्वितीय भइन्। उनले नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन्।
त्यसैगरी आदर्श मावीकै यशोबिना कार्की तृतीय भइन् भने जनपथ माध्यमिक विद्यालयका छात्र भाष्कर पुलामी सान्त्वना भए। तृतीय स्थान हासिल गर्ने कार्कीले नगद ४ हजार तथा सान्त्वना हुने पुलामीले २ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। साथै बाल माध्यमिक विद्यालय रानीकी आकृति पण्डितलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा शैक्षिक प्रशासन महाशाखाका प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, अधिकृत कृष्ण भट्टराई, आयोजक समितिका प्रधानाध्यापक खेमराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सुवेदी, सदस्य पुण्यप्रसाद भण्डारी तथा निर्णायकद्वय मीनकुमार नवोदित र अभयकुमार राईले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले यस्ता प्रतियोगिताले विद्यार्थीको वक्तृत्वकला र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। आयोजक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले महानगरसँगको सहकार्यमा विद्यालयले वक्तृत्वकलासहित चित्रकला, हाजिरीजवाफ लगायतका विविध प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए।
विद्यार्थीभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित ११ वटा सामुदायिक विद्यालयका दुई–दुई जना विद्यार्थी सहभागी भएका थिए।