बुढानिलकण्ठ स्कुल प्याब्सन महानगर स्तरीय हाजिरी जवाफमा प्रथम
विराटनगर, ४ फागुन।
प्याब्सन विराटनगर महानगर कार्यसमितिको आयोजनामा सम्पन्न प्याब्सन महानगरपालिका स्तरीय आधारभूत तह (कक्षा १–५) हाजिरी जवाफ प्रतियोगितामा बुढानिलकण्ठ सेकेन्डरी इङ्ग्लिस स्कुल प्रथम भएको छ।
विराटनगरका २३ विद्यालय सहभागी उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै बुढानिलकण्ठले शीर्ष स्थान हासिल गरेको हो। प्रतियोगितामा एभरेष्ट सेकेन्डरी स्कुल द्वितीय, बालकल्याण विद्या मन्दिर तृतीय तथा सप्तकोसी सेकेन्डरी स्कुल सान्त्वना स्थानमा रहेका छन्।
यस प्रतिस्पर्धाबाट शीर्ष ६ स्थानमा रहेका बुढानिलकण्ठ सेकेन्डरी इङ्ग्लिस स्कुल, एभरेष्ट सेकेन्डरी स्कुल, बालकल्याण विद्या मन्दिर, सप्तकोसी सेकेन्डरी स्कुल, बालसंसार इङ्ग्लिस बोर्डिङ स्कुल र ग्रिनल्याण्ड सेकेन्डरी स्कुल फागुन ६ गते हुने नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताका लागि छनौट भएका छन्। विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको आयोजनामा हुने सामुदायिक र संस्थागत विद्यालयहरू बीचकाे उक्त प्रतियोगितामा यी विद्यालयहरूले प्याब्सनको प्रतिनिधित्व गर्नेछन्।
विजेता विद्यालय तथा विद्यार्थीहरूलाई प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य शीतला सुब्बा, कोशी प्रदेश कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन विराटनगर अध्यक्ष अर्जुन श्रेष्ठ, प्याब्सनिष्ट युवराज अधिकारी, खड्गबहादुर राई, विजय दाहाल, प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामा, सदस्य तथा कार्यक्रम संयोजक ईश्वरीप्रसाद मिश्र तथा सदस्य विजय सिंहले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो।
कार्यक्रम प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराई तथा प्याब्सन मोरङका सदस्य ईन्द्रकुमार राईको उपस्थिति रहेको थियो।
“विद्यार्थीहरूमा ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास लिएकाे केन्द्रीय सदस्य सुब्बाले बताउनुभयो।